जनकपुरधामबाट , १४ माघ //
सरकारी जागिरको नक्कली नियुक्ति दिएको आरोपमा जनकपुरधामबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको आरोपमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने २५ वर्षीय शहादत राईनलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनले स्थानीय १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारस कुमार पासवान र दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिएको भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
राईनले सडक डिभिजन कार्यालयको लेटरप्याड, सरकारी छाप किर्ते गरी उनीहरुलाई सुपरभाईजर पदको नियुक्ती पत्र, मासिक तलब र सो पद सम्बन्धि उम्मेदवारको समझौता पत्र दिएर तीनैजनाबाट जनही २ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
तीनैजनाले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राईनमाथि किर्ते,ठगी शीर्षकमा उजुरी दिएका थिए । सोहि उजुरीको आधारमा प्रहरीले खोजतलासको क्रममा राईनलाई बुधबार जनकपुरधामको कदमचोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।
उनका अनुसार राईनले आफूले किर्ते गरेको समेत स्वीकार गरेका छन्। पक्राउ परेका उनलाई बुधबार नै जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको प्रवक्ता रायले जानकारी दिए।


