रौतहट , ८ फागुन //
मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आउदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन्।जनता समाजवादी पार्टीका नेता समेत रहेका मुख्य मन्त्री राउतले रौतहटको गुजरा नगरपालिकाको कनकपुर मा सनिबार जनता समाजवादी पार्टी नेपाल गुजरा नगर कमिटीले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले मधेश प्रदेश सहित देशभरिनै जनता समाजवादी पार्टीको पक्षमा जनलहर आएकाले आगामी दिनमा हुने तिनै तहको निर्वाचनमा जसपाको बहुमतलाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । मुख्य मन्त्री राउतले जनता समाजवादी पार्टीको नीति, सिद्धान्त, विचार र यस्ले गरेको कामलाई देखेर नागरिकले फेरि तीनै तहको चुनावमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने प्रस्ट पारेका थिए।
तराई मधेशका उत्पीडित दलित, थारु, आदिवासी, जनजाति, मुस्लिम लगायतका जातजातिको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी जनता समाजवादी पार्टी मात्र रहेकोले आउदो चुनावमा जनता समाजवादी पार्टी जित्नु को विकल्प नरहेको समेत उनले बताए ।
उनले मधेशी जनतालाई सधैं हक अधिकार बाट वञ्चित गरेर राख्ने कांग्रेस, एमाले, माओबादी पार्टीलाई आउदो चुनावमा पहिचान गरी लखेट्नु पर्ने धारणा राखे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले मधेश र मधेशी जनतालाई अधिकार दिन नचाहने एमाले, माओवादी, कांग्रेसका नेतालाई मधेशी जनताले आउदो तिनै तहको निर्वाचनमा राम्ररी सवक सिकाउनु पर्ने बताए । एमाले, माओवादी र कांग्रेसले मधेशी जनतालाई पटक पटक ठग्ने काम मात्र गरेकोले आउदो चुनावमा उनीहरुलाई भोट नदिन राज्य मन्त्री यादवले सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी, रौतहटका प्रदेश सांसद शेख फुलबाबू, प्रदेश सांसद रामकिशोर यादव, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, उपमेयर शेख रौसन खातुन, जनता समाजवादी पार्टी नेपालका नेता ब्रिज यादव, धर्मेन्द्र पटेल,राजकुमार दास, कौशर खान मिथिला लगायतका नेताहरुको उपस्थिति रहेको थियो।


