रौतहट , ५ बैशाख //
मधेश प्रदेशसहित तराईका जिल्लामा आगामी तीन दिन तातो हावा ‘लू’ चल्ने भएकोले उच्च शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्धारा जारी पूर्व चेतावनी अनुसार तराईका जिल्लामा बैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।
४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ ।
यो अघि नै विज्ञहरुले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार तीन दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताए ।
उनका अनुसार ४० डिग्री वा सो भन्दामाथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । उनले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए ।


