बारा , २३ बैशाख //
नेपाली कांग्रेस मधेस प्रदेश समितिका सहमहामन्त्री जयनारायण यादवले स्थानीय निर्वाचनका लागि टिकट बिक्री भएको भन्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
यादवले सोमबार कलैयामा पत्रकार सम्मेलन गर्दै प्रदेश समितिका सभापति कृष्ण यादवलाई राजीनामा बुझाएका हुन् । उम्मेदवारमा सिफारिस नै नभएका व्यक्तिहरूलाई पार्टीको प्रदेश सभापति यादवले उपसभापति चन्द्रशेखर यादवसित मिलेमतोमा आर्थिक चलखेल गरी टिकट वितरण गरेको उनको आरोप छ।
वडाअध्यक्षदेखि नगर प्रमुख/उपप्रमुख र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षको लागि टिकटमा मनोमानी गरिएको भन्दै यसबारे पार्टीभित्र छानबिन हुनुपर्ने उनको माग छ ।
प्रदेश समितिका सभापति कृष्ण यादवले भने रितपूर्वक सिफारिस भई नआएकाले उम्मेदवारका आकांक्षीहरूलाई सबैको सहमतिमै टिकट वितरण गरिएको बताएका छन् ।
उनले पार्टीका केन्द्रीय सहमहामन्त्रीद्वय फरमुल्लाह मंसुर र उमाकान्त चौधरी, प्रदेश सिमितिका पदाधिकारीहरूको सहमतिमा टिकट वितरण गरिएको र कुनै आर्थिक चलखेल नभएको दाबी गरेका छन् ।


