धनुषा , १८ भदौ //
धनुषामा एक विवाहित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका ८ किसाननगर टोल बस्ने जीवछ साहकी २० वर्षीया श्रीमती चन्द्रकला साह रहेकी छन् ।
माइती पक्षले भने दाइजोको कारण घरपरिवार मिलेर छोरीको हत्या गरेको दावी गरेका छन्। बिहीबार राति चन्द्रकलाको शव मृत अवस्थामा सुतेकै ओछ्यानमा बरामद भएको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेका भन्दै प्रहरीले मृतक चन्द्रकलाकी पति जीवछलाई पक्राउ गरेको छ ।
ओछ्यानमै शव फेला पर्यो, झुन्ड्याएको हो कि भन्ने हाम्रो आशंका छ। त्यसैले चन्द्रकलाकी पति जिवछलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं । पोस्टमार्टम रिपोर्ट आएपछि यथार्थ कुरा खुल्छ’ धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले भने ।
बिहीबार राति साढे १ बजे चन्द्रकलाको मृत्यु भएको घरपरिवारल जनाएको छ ।
‘राति १ बजे चन्द्रकलाको ससुरा घरबाट छोरी एकदमै गम्भीर छ चाँडै आमाबुबा आउनुस् भनेर फोन आयो’ चन्द्रकलाका बुबा धनुषाधाम नगरपालिका २ पुनरदाहा बस्ने रामलखन साहने भने, ‘हामी डेढ बजे राति पुग्दा परिवारजनले तपाईंको छोरी मरि। सुतेको ओछ्यानमै मृत्यु भयो भने।’
यति भनेपछि ओछ्यानमा हेर्न जाँदा चन्द्रकलाको मृत्यु भइसकेको र घाँटी थिचेको जस्तो डाम देखिएको बुबा रामलखनको भनाइ छ।
चन्द्रकलाको आठ महिना अघि मंसिरमा सामाजिक परम्परा अनुसार जिवछसंग विवाह भएको थियो। बुबा रामलखनका अनुसार दाइजोमा एउटा मोटरसाइकल बापत ४ लाख नगद, दुईतोला सुन र डेढ लाखको फर्निचरसहितको सामान दिइएको थियो।
केहि महिना अघिदेखि ज्वाइँ जीवछले विदेश जान थप दुई लाख रुपैयाँ दाइजो माग्दै आएको र सोही निहुँमा छोरीलाई कुटपिटसहित यातना दिने गरेको बुबा रामलखनले बताए।
त्यसरी यातना दिँदा एक महिनाअघि माइत पक्षबाट केही समाजलाई लिएर गई जिवछलाई सम्झाई बुझाइ गरिएको उनले बताए । घरमा चन्द्रकलालाई कुटपिट गर्ने गरेकाले परिवारजन नै मिलेर छोरीको हत्या गरेको बुबा रामलखनको दाबी छ।
चन्द्रकलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ।


