सर्लाही ,४ असोज //
सर्लाहीमा सोमबार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ,भने अन्य ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ घारिबथानस्थित गुईडुङका अन्दाजी २८ वर्षीय प्रेमबहादुर घलान रहेका छन्।
चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार साँझ बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यस्तै चट्याङ लागेर मृतक घलानकी श्रीमती २६ वर्षीया नन्दीमाया घलान, ज्वाइँ २७ वर्षीय वुद्धबहादुर पाख्रिन, वुद्धबहादुरकी छोरी २ वर्षकी प्रतिमा पाख्रिन र स्थानीय २७ वर्षीय रुद्रमान स्याङतान घाइते भएका छन् ।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


