पर्सा , २३ बैशाख //
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का मंगलबहादुर भ्लोनको घरबाहिर गोली चलाएको घटनामा संलग्न एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहाका २७ वर्षीय सल्टु महतो रहेका छन्।
बिहीबार राति ९ बजेतिर स्थानीय भ्लोनका घरबाहिर १ राउण्ड गोली चलाएको विषयमा छानविन गर्दा महतोलाई प्रहरीले आज बिहान हिरासतमा लिएको पर्सा प्रहरीले जनाएको छ।
हिजो राति घरबाहिर धानको बेरामा गोली चलेको देखेपछि आतंकित भएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।गोली चलेको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको थियो ।
घटनामा संलग्नता देखेपछि महतोलाई आज बिहान साढे ९ बजेतिर हिरासतमा लिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
महतोको घरनजिकै खाली जमिनको नालीमा लुकाएर राखिएको १२ बोरको १ नाले घरेलु बन्दुक समेत बरामद भएको प्रवक्ता खनालले जानकारी दिए।
पक्राउ परेका उनीमाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


