धनुषा , १० असार //
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमान रामचन्द्र मण्डल खत्वे र उनका बुवा सहदेव मण्डल खत्वे रहेका छन् ।
धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो ।घटना पश्चात फरार श्रीमान र ससुरा ८ महिना पश्चात पक्राउ परेका हुन् ।
सिरहाको गोलबजार नगरपालिका–५ बस्ने मुनेश्वर मण्डलको श्रीमती तेतरी देवी मण्डल (मृतकको आमा) ले रामचन्द्रलाई विपक्षी बनाइ ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा ईलाका प्रहरी कार्यालय यदुकुहामा जाहेरी दरखास्त दिएकी थिइन् ।
बुधबार उनीहरू भारततर्फबाट सिरहाको वरियारपट्टी गाउँपालिका–३ वरियारपट्टी चौकतर्फ हिँड्डुल गर्दै आइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका उनीहरू दुवै जनालाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


