सप्तरी, ८ असार //
सप्तरीबाट सशस्त्र प्रहरीले १ क्विन्टल ७५ किलो गाँजा बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
कोशी ब्यारेज चेक प्वाइन्टमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई शंकास्पद अवस्थामा चेकजाँच गर्न खोज्दाँ चालक र सहचालक फरार भएका थिए । सशस्त्र प्रहरीको टोली देखेर चालक र सहचालक फरार भएपछि ट्रकभित्र हेर्दा गाँजा बरामद भएको थियो ।
ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा १७५ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।
बरामद भएको गाँजासहित ट्रकलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको तथा फरार भएको ट्रक चालक र सहचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


