सर्लाही , ८ असार //
सर्लाहीमा ढल निकासको बिषयमा झडप हुँदा ८ जना घाइते भएका छन् ।
मंगलबार राति साढे ९ बजे हरिवन नगरपालिका ११ बालगंगामा ढल निकास सम्बन्धी विवादको क्रममा स्थानीयबीच दुई समूहबीच झडप भएको हो ।
घाइते हुनेहरुमा स्थानीय अजर मन्जर, आल्म्वीर हुसेन, शेख अस्फाक, मन्जर अलि, मोहमद चाँद, लालबाबु शेख, अप्सा खातुन, मिविन आलम लगायत घाइते भएका छन् ।
उनीहरुको हरिवनमा रहेको नमूना र स्वाभिमान अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए।
स्थानीयबीच सामान्य विवाद चलिरहँदा हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजाका भाइ रेहान रेजासहितको समूहले गाउँलेमाथि आक्रमण गरेका आरोप पीडित पक्षको छ।
घटनाको विरोधमा स्थानीयले गएराति १० बजेदेखि दुई घण्टासम्म पूर्वपश्चिम राजमार्गको हरिवन बजारमा चक्का जाम गरेका छन्।
सो ठाउँमा ढल निकासको विषयमा केही दिन पहिलादेखि नै स्थानीयबीच सामान्य विवाद चल्दै आएको थियो । मंगलबार साँझ प्रहरी निरिक्षक ताम्राकारकै अगाडि वडाध्यक्ष रेजाका भाइले स्थानीयमाथि आक्रमण गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन्।
वडाध्यक्षका भाइसहितको समूहले स्थानीमाथि आक्रमण गर्दा पनि घटनास्थलमै रहेका प्रहरी निरीक्षक ताम्राकार मुकदर्शक बनेको आरोप पीडित पक्षको छ।
घटना विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ताम्राकारले जानकारी दिए।


