सप्तरी, ९ असार //
सप्तरीमा सवारि दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ,भने अन्य ११ जना घाइते भएका छन्।
दुर्घटनामा परि नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय राजविराजका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
आज (विहिबार ) बिहान जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका १ भारदह स्थित कंकालनी मन्दिर नजिकै पुर्व तर्फबाट पश्चिमतिर आइरहेको ना.५ ख १८९८ नम्बरको कान्तिपुर यातायातको बस अनियंत्रित भइ सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका–३ का ७० वर्षीय मानबहादुर तामाङ र निजकी श्रीमती ६९ वर्षीया बिष्णुकुमारी तामाङको अवस्था गम्भिर भएकाले विराटनगर रेफर गरिएको काफ्लेले बताएका छन् ।
यस्तै सोहि बसका सह चालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदम बहादुर राई, सप्तरीको कञ्चनरुप नगरपालिका–२ की २० वर्षीया अस्मिना खातुन, वडा नम्बर–३ का १८ वर्षीय आलोककुमार सेख, वडा नम्बर– ८ का १७ वर्षीय बिबेक कुमार साह , सुनसरीको ईनरुवा नगरपालिका–१ की ३० वर्षीया रिङ्कु कुमारी यादव, ३३ वर्षीय रबिन खड्गा, सुनसरीको बराह क्षेत्र नगरपालिका–५ का १८ वर्षीय निर्मल दाहाल, उदयपुरको चौदण्डिगढी नगरपालिका–६ का ४० वर्षीय सिताराम रसाईली, मोरङको बिराटनगर उपमहानगरपालिका–१३ की ३३ वर्षीय प्रमिला राई घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको भारदहस्थित जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको तथा बस चालक फरार रहेकोले खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।


