सर्लाही , १६ साउन //
सर्लाहीमा बसबाट ओर्लिने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कौडेना गाउँपालिका–३, बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेका छन्।
आईतबार सर्लाहीको बलरा नगरपालिकाको सुदामा गाउँबाट सदरमुकाम मलङ्गवा आएको ग १ ख ९४५२ नम्वरको बसबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सदरमुकाम मलङ्गवा नगरपालिका–२, स्थित बसपार्कमा बसबाट ओर्लिने क्रममा चौधरीले लगाएको सर्ट ढोकामा अल्झिँदा उनी लडेर गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि बस प्रहरी नियन्त्रणमा छ भने त्यसका चालक फरार रहेकाले खोजिकार्य भइरहेको सर्लाही प्रहरीले जनाएको छ।


