रौतहट २३ पुस । चन्द्रपुर नगरपालिका–५ राजपैडानजिक नेपाल विद्युत् प्राधिकरणको भवनमा करिव १७ वर्षदेखि नेपाली सेना बसिरहेको छ ।
प्राधिकरण भने भाडाको घर मा कार्यालय संचालन गरेर संचालन हुँदै आएको छ ।
चन्द्रपुर शाखाको कार्यालय सेना बसिरहेको आफ्नै भवनमा बिधुत कार्यालय सार्न पहल थालिएको छ ।
केहिदिन अघि मधेस प्रदेश कार्यालयहरुको भ्रमणमा आएका प्राधिकरण प्रमुख कुलमान घिसिङलाई चन्द्रपुर शाखा आफ्नै भवनमा सार्न पहल गरिदिन आग्रह गरिएको शाखा प्रमुख धीरेन्द्र यादवले बताएका छन।
उनले भने, ‘ प्रमुख ज्युलाइ सेनालाई हटाएर आफ्नै भवनमा प्राधिकरणको कार्यालय सार्न पहल गर्न अनुरोध गरेका छौं ।
बिधुत कार्यालयले सुरुमा चन्द्रपुर–४ स्थित मुख्य चोकमा पूर्व–पश्चिम राजमागसँगै जोडिएको घर भाडामा लिएर सेवा सञ्चालन गरेको थियो । त्यसपछि गौर रोडमा सारियो अहिले चन्द्रपुर–५ स्थित पूर्वटोलामा ४८ हजार रुपैयाँ मासिक भाडा तिरेर कार्यालय राखिएको छ ।
कार्यालय पायक पर्ने ठाउँमा सार्न दबाब दिएपछि प्रमुख यादवले सेनाले प्रयोग गरिरहेको प्राधिकरणको निजी भवनमा सार्न पहल थालेको बताए ।
सशस्त्र द्वन्द्वका बेला प्राधिकरणको भवनमा संयुक्त सुरक्षा फौज बसेको थियो । त्यसपछि सेना मात्रै बस्दै आएको छ ।
प्राधिकरणले २०५६ सालमा ८ कट्ठा जग्गामा ५ कोठे भवन निर्माण गरेको थियो ।
उक्त भवनमा त्सबेला सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई राखेको हो । अहिले उक्त भवनमा सेनाको वीर दल गुल्म छ ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले प्राधिकरणको भवनमा सेना बसेको विषयमा के भएको हो भन्ने आफूले बुझ्ने बताए ।


