फणि महत //
रौतहट,१७ फागुन । लघुवित्तको ऋण गलपासो झै बन्न थालेपछि पिडित भएको भन्दै महिलाहरु संगठित हुन थालेका छन् । कतिपय पिडितले भने घर छाेडेर भाग्न थालेका छन ।
लघुवित्तका कारण चर्को व्याज खेप्नु परेको, घरपरिवारमा झगडा हुन थालेको , लुकेर ,भागेर बस्नुपर्ने अवस्था आएकोले रौतहटका बिभिन्न टोलका पिडितहरु संगठित हुन थालेका छन ।
एकै ब्यक्ति लाई १५ वटा सम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि ऋणिलाइ घरमै आएर लघुबित्तले चेतावनि दिन थालेपछि पिडितहरु संगठित बन्न थालेका हुन ।
ऋणलिनेहरुले लघुवित्तको नियम अनुसार १० देखि ५० जनाको महिला समूह गठन गरेर ऋण लिने गरेका छन ।
समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गरेको छ । एकलाख ऋणमा बीमा, आपतकालीन र सेवाशुल्क गरेर १० हजार काटिन्छ ।
हातमा परेको ९० हजार को वर्षमा लघुवित्तलाई १ लाख ६० हजार बुझाउनुपर्छ । ६ हजार बचतमा बस्छ । किस्ता तिर्न आनाकानी गरे महिला समूह लगाएर घरमा भएको भाँडाकुँडा,जिन्सी समान समेत लाने गरेको ऋणिहरुको भनाइ छ ।
रौतहटको चन्द्रपुर नगरपालिकाका दुईवटा गाँउमा मिटर व्याज तथा लघुवित्तको बिरुद्ध संघर्स समिति गठन भएको छ ।
गएको शुक्रबार चन्द्रपुर ८ बेतौनामा उर्मिला देवी पासवानको नेतृत्वमा संघर्स समिति गठन भएको हो ।
यस्तै शुक्रबार चन्द्रपुर ९ को नयाँ बस्ती कटानीमा पनि लिला देवी रामको अध्यक्षतामा संघर्स समिति गठन भएको छ ।
मिटर व्याज तथा लघुवित्तको ठगि बिरुद्ध संघर्स समिति रौतहटका संयोजक शिव शंकर महतोले अब गाउँ गाउँ मा समिति बन्न थालेको बताए ।
लघुवित्तको ऋण निल्नु न ओकल्नु भयो
चन्द्रपुर नगरपालिका वडानं ५ की ३४ बर्षिय प्रेमादेवी गोसाई को आधा दर्जन लघुवित्त संग कारोवार छ ।
एक बर्ष अघि मुटु रोगका कारण उनको श्रीमान शंकर गोसाइको मृत्यु भएपछि लघुवित्तबाट लिएको ऋण तिर्न नसकोले पछिल्लो दिन दिनहु जसो लघुवित्तका कर्मचारीको गाली खेप्दै आएको बताउछिन ।
आफ्नो नाममा एक घुर जमिन नभएकी गोसाइ बागमती सिंचाई आयोजाको नहरको डिलमा सानाे छाप्रो बनाएर बसेकी छिन ।
लघुवित्तबाट ऋण लिएर उपचार गर्दा चार लाख सकिएको उनले दुखेको पोखिन ।
प्रेमादेबीलाई आफ्ना दुई छोरा र एक छोरीको पालन पोषणका लागि हातमुख जोड्नै समस्या परेका बेला आधा दर्जन लघु वित्तका कर्मचारीको दिनकै गाली ले थप पीडा दिने बताउछिन ।
नेशनल लघुवित्त एक लाख,डिप्रोक्स लघुवित्तबाट एक लाख ५० हजार ,आशा लघुवित्तबाट एक लाख ,समता लघुवित्तबाट ७० हजार ,हम सव लघुवित्तबाट ८० हजार ,निरुडे लघुवित्तबाट एक रुपैया उनले ऋण लिएको उनको भनाइ छ ।
मासिक रुपमा नेशनललाई १३ हजार ,डिप्रेक्सलाई १७ हजार ,आशालाई १० हजार ,समतालाई सात हजार ,हमसवलाई ८ हजार र निरुडेलाई १० हजारमा दरले किस्ता तिर्नु गरेकी छिन ।

फोटो : श्रीमानको उपचारक्रममा मृत्यू ,उपचारमा लागेको ४ लाख तिर्न नसक्दा बिचल्ली भएको प्रेमादेवी को दुखेसो ।
। तस्बिरहरु : फणि महत
दिनको पाँच सयको पनि व्यापार नहुने उन्को सानो घुम्ती पसल छ । लघुवित्तको मासिक किस्ता तिर्न नसकेपछि उनी दिनकै लघुवित्तका कर्मचारीको गाली सहन बाध्य भएकी छिन् ।
आफुले कुन लघुवित्तमा कति किस्ता बुझाँए भन्ने समेत थाहा छैन् । लघुवित्तका कर्मचारीले ऋणीलाई दिनुपर्ने पासबुक समेत आफैले लिएर गएको प्रेमादेबीको भनाइ रहेको छ ।
लघुवित्तका कर्मचारी दिनहु घरमा आएर ऋण तिरेन भने नागकिरता खारेज हुन्छ ,छोरा छोरीको नागरिकता बन्दैन् ,विद्यालयमा पढन पाउँदैन,पत्रिकामा तीन पुस्ताको नाम छापिन्छ भन्दै तर्साउने गरेको उनको गुनासो छ ।
गाँउमा नयाँ मान्छे आयो की लुक्छीन् सितादेवी
चन्द्रपुर नगरपालिका वडानं ५ नहर टोलकी सिता देवी दास घर अगाडि कसैले मोटरसाईकल रोक्यो भने छिमेकीको घर नत खेतबारी तीर कुद्छिन ।
३६ बर्षकी दास ले ८ वटा बिभिन्न लघुवित्तबाट ऋण लिएकी छिन् । सोही ऋणको किस्ता माग्न लघुवित्तका कर्मचारी घर आउन थालेपछि उनी डराएर लुक्न थालेकी हुन ।
बिगत ४ बर्ष देखी साउदीमा रहेका उनका श्रीमानले पनि यतीबेला पैसा पठाउन छाडेपछि उनी समस्यामा परेको बताउछिन ।
चन्द्रनिगाहपुरको देउराली चोकमा कस्मेटीकको पसल गरेर बसेकी सिला साहको भनाइमा लाग्दा सिता यतीबेला नयाँ मान्छे देख्योकी लुक्न बाध्य हुन परेको दुखेसो पोख्छिन ।
उनले लिएको सहकारी लघुवित्तको ७ हजार ,नेशनल लघुवित्तको २० हजार ,बिजय लघुवित्ततर,७० हजार ,ज्योती लघुवित्तको १३ हजार ,निर्धन लघुवित्तको ५० हजार ,आशा लघुवित्तको ७० हजार ,समाता लघुवित्तको ४० हजार र स्वावलम्बन लघुवित्तको ७५ हजार तिर्नु छ ।
सिताले लघुवित्तबाट लिएको पैसा सिला साहलाई दिईन् । सिलाले दुई चार किस्ता लघुवित्तको तिरिन एक बर्ष अघि कस्मेटीक पसल बेचेर सिला साह सम्पर्क बिहिन भएपछि आठ वटै लघुवित्तका कर्मचारी सिताको घरमा धाउन थाले ।
केही महिना अघि दुई बर्षमा साउदीबाट घर आएका उनका रामचन्द्र दासले नभएको ऋण बोकाएको भन्दै कुटे , लघुवित्तको ऋण तिर्दिन भन्दै रामचन्द्र साउदी गएपछि सीता समस्यामा पर्न थालिन ।
श्रीमानले विदेशबाट पैसा पठाउन छाडेपछि ६ वटी छोरी र एक छोरा पाल्नका लागि आफुले गाँउघरमा ज्याला मजदुरी गर्दै आएको सीता दुखेसो पोख्छिन ।
८ वटा लघुवित्तको ऋणका कारण श्रीमानले छाड्ने अवस्था आएको भन्दै आंखाभरी आँसु पार्दै सिता दुखेसो पोख्छिन । लघुवित्तबाट लिएको ऋणको ब्याज समयमा चुक्ता गर्न नसकेकि सीता देवी लाई सावा व्याज कति पुग्यो पछिल्लो समय जानकारी छैन ।
बचत गरेको रकम फिर्ता दिएनन
करिव २ दशक देखी निर्धन लघुवित्त संग कारोवार गर्दै बचत गरेको एक लाख ५० हजार रकम सो लघुबित्तले फिर्ता नदिएको गुनासो छ ।
चन्द्रपुर ५ नहर टोलकी ६५ बर्षकी समिता सहनीले बचत गरेको एक लाख ५० हजार रकम निर्धन उत्थान लघुवित्तले फिर्ता नगरेको हो ।
निर्धन उत्थानको नाममा संचालिच यो संस्थाले ती बृद्धाको रकम फिर्ता नदिनु कारण भने उनको समुहले ऋण नतिरेकाले हो ।
टोलमा पाँच जनाको समुह बनाएर ऋण लिएकोमा चार जना महिलाले साँवा र व्याज नतिरेपछि लघुबित्तले ती बृद्धाको रकम रोकेको हो ।
समुहमा रहेकाहरुले ऋणको र साँवा व्याज नतिरेका कारण आफुले जम्मा गरेको बचत फिर्ता गर्न सो संस्थाले नमानेको उनको भनाइ छ ।
शुरुमा ऋण लिनुस भन्दै लघुवित्तका प्रतिनिधि घर घर आउने एकजना ऋणिले पैसा तिरेन भने समूहबाट असुल गर्ने गरेको समुहमा आवद्ध महिलाहरुको भनाइ रहेको छ ।
ऋण तिर्न नसकेपछि गाउँ छोड्न थाले
चन्द्रपुर नगरपालिका- ७ नयाँबस्तीका धेरै घर सुनसान छ ।कतिपय घरमा मान्छे बस्न छाडेका छन ।
टोलमा भेटिएकी किस्मतिया देवीले उनको जेठाजु ‘बैंकको ऋण तिर्न नसकेपछि घर छाडेर भागेको बताइन।
सो टोलका अधिकाश ले लघुवित्तलाई बैंक भनेर चिन्छन् | उनको जेठाजु बैजु साहको परिवारले घर छाडेर गएको धेरै भएको ती महिला बताउछिन ।
बि.स.२०५० सालमा आएको वागमतीको बाढीबाट विस्थापितहरुको लागि सरकारले चन्द्रपुर नपाको नयाबस्तिमा घर बनाइदिएको थियो ।
बाढी पीडित एक परिवारलाइ सरकारले १२ धुर जमिनमा २ कोठे घर बनाइदिएको थियो ।
बाढी पिडित सो बस्तिमा ६ सय घरमा उनिहरुका परिवार बस्छन । घर भएपनि रोजगारी नहुदा उनिहरु समस्यामा छन ।
उनका श्रीमान भोला साह ४० वर्ष का छन ,दमका रोगी उनले हरेक दिन औषधि खानुपर्छ । थोरै घपेडी भयो भने उनी बिरामी पर्छन । ओषधी साथमा बोक्न उनलाइ चिकित्सकले सुझाव दिएका छन ।
किस्मतिया देविको घरमा हरेक महिनाको २, १५ र २० गते लघुवित्तका कर्मचारी किस्ता लिन आइपुग्छन् ।
किस्मतिया जस्तै ऋण लिने नयाँ वस्ती टोलमा करीव एक हजार मानिस छन ।
पैसा कमाउन ५० हजार रुपैयाँ ऋण गरेर मलेसिया गएका भोला साह ६ महिनामै रोग बोकेर घर फर्किए । जचाउँदा उनको फोक्सोमा पानी भरिएर निमोनिया भएको डाक्टरले बताए ।
उनको डिप्रोक्स, र मेरो माइक्रो फाइनान्स लघुवित्तमा ३० हजार र ५० हजार ऋण छ ।
बस्तिका स्थानीयबासी अरुण पासवानका अनुसार नयाँबस्ती टोलका हरेक घरका मान्छेले कम्तीमा चार र बढीमा १८ वटासम्म लघुवित्त बाट ऋण लिएका छन् ।
बस्तिका चौठी महरा इँटा भट्टामा काम गर्छन । उनले डिप्रोक्स, नेरुडे लगायतका ६ वटा लघुवित्तबाट ऋण लिएका छन्।
१० हजार लिएको ५० हजार बनाइसक्यो लघुवित्तका कर्मचारीले व्यापार, विजेनस गर्नुपर्छ भन्दै जबर्जस्ती ऋण थमाएको उनको भनाइ छ ।
लघुवित्तका कर्मचारीले दिनकै घर आउन थालेपछि ७ जनाको परिवार पाल्नुपर्ने चौठी महरा लाई के गरौ,कसो गरौ भएको छ ।
स्थानीय अरुण पासवानका अनुसार टोलका विश्वेश्वर महरा, विष्णु महरा, राम आधार महरा, रामसुनर महरा, श्रीनारयण महरा लगाएत एक दर्जन भन्दा बढी परिवारले गाउँ छाडिसकेका छन् ।
स्तन क्यान्सरबाट पिडित पार्वती रामले ४ वटा लघुवित्त संग ऋण लिएकी छिन ।
उनकै विभिन्न लधुवित्तमा ४० हजार ,७० हजार , ८० हजार ऋण छ । लघुवित्तको ऋण तिर्न मिटरब्याजमा ऋण लिएकी उनको भनाइ छ ।
२० हजार लिएर उपचार गर्न भरतपुर गएकी ४४ बर्षिया पार्वती रकम सकिएपछि उपचार नगराइकनै फर्किएको बताउछिन ।



