रौतहट १७ चैत । इशनाथ नगरपालिका- ६ जयनगर टोलमा मंगलबार राति दुई घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भयो भने अर्की एक जना जलेर घाइते भएकी छन् । पछिल्लो दिनमा जिल्लामा आगलागीका घटना दिनहुजसो हुने गरेको छ ।
इशनाथ नगरपालिकामा दमकल नभएका कारण समयमा आगो निभाउन नसकेको स्थानिय बताउछन ।
आगलागि नियन्त्रण गर्न नजिकै कुनै नगरपालिकामा दमकल थिएन् । रौतहटमा जम्मा दुई वटा पालिकामा मात्र दमकल छ ।अन्य १६ पालिकामा दमकल छैन । आगलागि नियन्त्रणका गौर तथा चन्द्रपुर पुग्दा नपुग्दै धनजनको क्षती भईसक्ने गरेको छ ।
जिल्लामा पालिकाहरूले पनि चाँडै दमकल खरिद गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन सकेको छैन । जिल्लाका १८ वटा स्थानीय तहमध्ये चन्द्रपुर र गौरमा एक/एक वटा मात्र दमकल छ । ठूलो आगजनी हुदा छिमेकी जिल्ला बारा र सर्लाहीबाट दमकल ल्याउनु पर्ने बाध्यता छ । चन्द्रपुरमा फायरम्यान नियुक्ति नहुदा सशस्त्र प्रहरीले सहयोग गर्दै आएको छ ।
जिल्लाका अन्य पालिकाले दमकल किन्ने तर्फ ध्यान नदिएकाले दुई पालिकामा रहेका दमकलले जिल्लामा हुने आगजनी नियन्त्रण गर्न सक्ने क्षमता नराख्ने स्थानिय बताउछन ।
जिल्लाको मध्य भागमा पर्ने गरुडा नपा आसपासका पालिका मिलेर दमकल खरिद गर्दा सहज हुने भएकाले आफुले यसका लागि अन्य पालिकासंग समन्वय गरिरहेको गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवालले बताए।
चन्द्रनिगाहपुरको पुरानो बजारको एक प्लाइउड पसलमा गतबर्ष आगजनी हुँदा सदरमुकाम गौर चन्द्रनिगाहपुर, बारा र सर्लाहीबाट दमकल झिकाएर आगो नियन्त्रणमा लिइएको थियो । गरुडा इलाकामा गत वर्ष १३ वटा आगलागीका घटना भए। जिल्लामा हरेक साल दर्जन बढी पालिकामा आगलागीका घटना हुने गरेको छ ।
पालिकाहरूले प्रमुख उपप्रमुखले चढ्ने सवारी खरिदलाई प्राथमिकतामा राखेको स्थानीयको गुनासो छ । अधिकांश पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका छुट्टाछुट्टै सवारी मोहले जनताको समस्या ओझेल परेको धेरैको भनाइ छ ।
प्रमुख, उपप्रमुख गाडी र वडा अध्यक्ष समेत महगाे मोटरसाइकल चढ्ने संस्कारको बिकाश भएको समाजका अगुवाहरु बताउछन ।
गढीमाई नगरपालिकाका मेयर श्याम यादवले आफ्नो पालिकाले अबको आर्थिक बर्षमा दमकल किन्न रकम बिनियोजन गर्ने बताए ।
फोटो : चन्द्रपुर नपाको दमकल


